भक्तपुरका तीनवटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू

Thankot Times

थानकोट, फागुन २३ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-१० स्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ।

पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको हो।

ती पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको हो।

भक्तपुरमा बर्डफ्लू भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पंक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ।

समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको चार किलाभित्रको पंक्षी तथा पक्षीजन्य वस्तुहरू दाना, सुली, अण्डालगायत वस्तुहरू नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *