दिवंगत बाबुको पुरानो तस्बिर देख्दा भावुक भए सन्तबहादुर र दिलमाया

Thankot Times

थानकोट, चैत्र ५ ।

पुरानो चन्द्रागिरि फोटो प्रदर्शनीको अन्तिम दिन थानकोटस्थित साझाघरमा चन्द्रागिरि नगर क्षेत्रका फोटाहरू हेर्न स्थानीयहरूको चहलपहल बाक्लै देखिन्थ्यो । चन्द्रागिरि नगर क्षेत्रका १ सय २० वटा पुराना चित्र तथा तस्बिरहरू मध्ये एक तस्बिरले कार्यक्रममा उपस्थित अधिकांश ज्येष्ठ नागरिकहरूको ध्यान तान्यो जुन तस्बिर वि.सं. २०२३ सालमा अमेरिकी नागरिक रिच फउ ले  चित्लाङ जाने क्रममा देउराली भञ्ज्याङ्गमा खिच्नुभएको थियो ।

थानकोटस्थित एक विद्यालयका शिक्षक आशामदु गाेपालीले उक्त तस्बिर निकै बेर हेर्नुभयो अनि कार्यक्रममा उपस्थित अन्य ज्येष्ठ नागरिकहरूसँग नेपाल भाषामा उनी को होलान भनि सोधिखोजी गर्नुभयो ।

अन्ततः कार्यक्रमका सबै ज्येष्ठ नागरिकले पहिचान गर्नुभयो तस्बिरमा देखिएका व्यक्ति थानकोट निवासी कृष्ण बहादुर श्रेष्ठ जो वि.संं २०३७ सालमा परलोक हुनुभएको थियो । त्यतिकैमा कार्यक्रमस्थलबाट फोटोग्राफर प्रकाश गोपालीले ६२ वर्षीय सन्तबहादुर श्रेष्ठलाई फोन गरेर फोटो प्रदर्शनीमा हेर्न बोलाउनुभयो अनि उक्त फोटो देखाउँदै सोध्नुभयो “उहाँ को हुनुहुन्छ ?”

सन्तबहादुरले फोटोमा देखिएका व्यक्ति पहिचान गर्न सक्नुभएन् तर त्यहाँ उपस्थित ज्येष्ठ नागरिकहरूले उक्त फोटो सन्तबहादुरका पिता कृष्णबहादुरको नै हो भनेपनि सन्तबहादुर आफ्ना बाबुको तस्बिर हैन भन्ने निष्कर्षमा पुग्नुभयो । अनि फेरि खोजि भयो सन्तबहादुरकी दिदी दिलमायाको खोजी जो प्रदर्शनीस्थल नजिकै बसोबास गर्नुहुन्थ्यो । केहिबेरमा दिलमाया कार्यक्रमस्थलमा आइपुग्नुभयो अनि फोटोग्राफर प्रकाश गोपालीले नै सोध्नुभयो “उहाँ को हुनुहुन्छ ?”

७२ वर्षीया दिलमाया एकछिन सोचमग्न हुनुभयो भनि भन्नुभयो “उहाँ हाम्रा बा हुनुहुन्थ्यो ।”

अब कार्यक्रमस्थलमा हुनुभएका सबैले खुसी हुँदै भन्नुभयो “देख्याै हामीले भनेको मिलिहाल्यो !”

“बाबु बितेको लामो समय भएको र त्यो बखत फोटो खिच्ने चलन समेत नभएको हुँदा मैले ठम्याउन सकिनँ” सन्तबहादुरले थप्नुभयो। कार्यक्रम आयोजकले उहाँहरूको दिवंगत पिताको फोटो ठूलो बनाएर ल्याइदिने वचन दिए, कार्यक्रमस्थलका सबैले ताली बजाएर स्वागत गरे । दिलमाया र सन्तबहादुर दिवंगत पिताको तस्बिर देखेर भावुकसँगै खुसी हुँदै घरतर्फ लाग्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *