मेयर बालेन्द्र शाह चन्द्रागिरि नगरमा (फोटो फिचर)

Thankot Times

थानकोट ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीबीच भेट वार्ता भएको छ ।

फोहोर व्यवस्थपान लगायतका विषयमा छलफल गर्न काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाह शनिबार बिहान चन्द्रागिरि आउनुभएको हो । सो क्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न विषयगत समितिका संयोजकहरू, विभिन्न वडाका वडाध्यक्षहरू लगायत नगरका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा मेयर शाहले चन्द्रागिरि नगरमा उत्पादन हुने फोहोर व्यवस्थापनका बारेमा चासो राख्नुभएको थियो, सो क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नगरले हालसम्म फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूको जानकारी गराउनुभएको थियो । फाेहोर व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले काठमाण्डाै महानगरलाई सहयोग गर्ने बताउनु हुँदै नगरप्रमुख गिरीले नगरले कुहिने र नकुहिने फोहोरको समेत वर्गीकरणका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । नगरप्रमुख गिरीले कलंकी-नागढुङ्गा सडक क्षेत्रमा गुड्ने सवारी साधनहरूमा अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने व्यवस्था गर्न लागिएको समेत बताउनु भयो ।

छलफलका क्रममा नगरप्रमुख गिरीले नागढुङ्गा नाका हुँदै काठमाण्डाै भित्रने र बाहिरिने सवारी साधनहरूको अभिलेख राख्नका लागि अत्याधुनिक प्रविधियुक्त स्क्यानिङ यन्त्र जडानका लागि नेपाल प्रहरीसँग आवश्यक छलफल भइरहेको समेत जानकारी दिनुभयो । सो क्रममा नगरउपप्रमुख बसन्ती श्रेष्ठले विद्यालय, संघसंस्था तथा आमा समुहलगायतलाई फोहोर व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान दिन जरूरी रहेको धारणा राख्नुभयो ।

मेयर द्वयसँगको छलफल कार्यक्रममा चन्द्रागिरि नगरका विभिन्न विषयगत समितिका संयोजकहरूले फोहोर व्यवस्थपान लगायतका विषयमा काठमाण्डाै महानगरका मेयरको ध्यानकर्षण समेत गराउनुभएको थियो । साे क्रममा काठमाण्डाै महानगरसँग सिमाना जोडिएका चन्द्रागिरि १४ र १५ का वडाध्यक्षहरूले दुई अलग स्थानीय निकायको फरक फरक मापदण्ड बनाउँदा सडक निर्माण, ढल निकास लगायतमा समस्या उत्पन्न भएको बताएका थिए ।

छलफल कार्यक्रममा चन्द्रागिरि नगर तथा काठमाण्डाै महानगरको सिमा क्षेत्रमा सार्वजनिक शाैचालयको व्यवस्थाका लागि समेत छलफल हुँदा चन्द्रागिरि १५ तीनथानाका वडाध्यक्ष घनश्याम लुइँटेलले शाैचालय व्यवस्थापनका लागि वडाले जग्गा उपलब्ध गराउन सक्ने धारणा राख्नुभयो ।

चन्द्रागिरि नगरपालिका भाैगोलिक क्षेत्रफलका हिसाबले काठमाण्डाैको काठमाण्डाै महानगरपछिको दोश्रो ठूलो नगर हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *