थानकोटमा गणेश पूजा सम्पन्न

Thankot Times

थानकोट ।

काठमाण्डाैका प्राचीन नेवाः बस्तीहरू मध्येको एक थानकोटमा गाईजात्रा पर्वको अघिल्लो दिन (क्वाति पुन्हिका दिन) वर्षेनी गरिने गणेश पूजा सम्पन्न भएको छ ।

स्थानीय कोतघर पूजा गुठीले गणेशको मूर्तिमा शुक्रबार विधिवत् पूजा गरेका हुन् । पूजा गुठी समितिले पूजा गरेपछि गणेशको मूर्ति थानकोट गाउँ घुमाउने परम्परा अनुसार शुक्रबार गाउँ परिक्रमा गराई मूर्ति यथास्थानमा विराजमान गराइएको चन्द्रागिरि नगरपालिका-४ थानकोटका वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । हिन्दू सभ्यतामा कुनै शुभकार्यको सुरूवात अघि गणेश भगवानको पूजा गर्ने चलन रहि आएको छ ।

गाईजात्राका दिन थानकोटमा गाईजात्राका अतिरिक्त सिफाफल पोखरीमा राँगोको टाउको डुबाउने जात्रा धुमधामका साथ मनाउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिथि अनुसार एकै दिन शुक्रबार जनैपूर्णिमा र गाईजात्रा पर्व परेको जानकारी सार्वजनिक गरे पनि काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका नेवार समुदायले छुट्टाछुट्टै दिनमा यी दुई पर्व मनाउने निर्णय गरेका थिए । जसअनुसार चन्द्रागिरि नगरका बलम्बु, थानकोट, सतुंगल लगायतका क्षेत्रमा शनिबार गाईजात्रा मनाइने सम्बन्धित क्षेत्रका वडा कार्यालयहरूले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *