विजयादशमी: टीका लगाउने र लगाइमाग्ने कुन दिशामा बस्ने ?

Thankot Times

थानकोट ।

बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म दशैंघरमा नवदुर्गाको पूजा आराधना गरी आज माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ ।

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दुर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र आज बुधबार बिहानैदेखि टीका, जमरा र आशिर्वाद ग्रहण गर्न सकिने छ ।

यस वर्ष विजयादशमीको दिन आज बुधबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइदिने पूर्व दिशमा फर्कनुपर्ने र लगाइमाग्ने पश्चिम दिशामा फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेंगुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज बुधबार मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *