चिकित्सकको सुझाव ‘जाडोमा मर्निङवाक नगरेकै राम्रो’

Thankot Times

थानकोट ।

छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ । वर्ल्ड इन्डेक्सको पछिल्लो सूची अनुसार राजधानी काठमाडौं सूचीको दशौं स्थानमा परेको छ ।

दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषणले खतरा तह पार गरेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । कर्मचारीलाई घरैबाट काम गर्न भनिएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यका लागि जोखिमपूर्ण छ ।

यस्तो अवस्थामा काठमाडौंमा वायु प्रदूषणको स्थिति के छ ? यतिबेला प्रातकालीन भ्रमणमा निस्कनु उचित हुन्छ कि हुँदैन ?

प्रायः जाडोयाम सुरु भएपछि काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । काठमाडौं कचौरा जस्तो आकारको भएको र वायु प्रदूषण अत्यधिक भएकाले बिहानको वायु पनि दूषित हुन्छ । यस्तो अवस्थामा प्रातकालीन भ्रमणमा निस्कँदा मुटु, फोक्सो लगायतमा गम्भीर समस्या हुने चिकित्सकहरुले बताउने गरेका छन् ।

जाडोयाम सुरु भएसँगै हावाको बहाव कम हुन्छ र चिसो-तातो हावाले एउटा तह बनाउँछ । हावा कम चल्ने र पानी नपर्ने भएकाले जाडो मौसममा त्यो धुलोका कण र प्रदूषण जहाँको त्यहीं रहन्छ । यो मौसममा बिहान ५ देखि ८ बजेसम्मको समयमा प्रदूषणको मात्रा बढी हुने भएकाले त्यसबेला मर्निङवाक नजानु उचित हुन्छ । बिहानभन्दा दिउँसो र साँझ बाहिर निस्कनु उचित हुने छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।

‘प्रदूषण र दूषित हावाका कारण फोक्सो, श्वासप्रश्वास, दीर्घरोग, दम र खोकीको समस्या पनि बढ्ने गर्छ । यी सबै वायु प्रदूषणले स्वास्थ्यमा पार्ने दीर्घकालीन असर हुन्,’ उनी भन्छन्, ‘वायू प्रदूषणकै कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउने जस्ता तत्कालीन असर पनि देखा पर्न सक्छ ।’

प्रदूषण बढी भएको समयमा मर्निङवाकमा निस्कँदा फोक्सो सम्बन्धी समस्या सामान्य व्यक्तिलाई पनि हुन सक्छ । जाडोमा हिंड्दा छिटो छिटो सास फेर्ने क्रममा प्रदूषित हावा र हानिकारक धुलोका कणहरु फोक्सोको भित्री तहसम्म पुगेर असर गर्न सक्ने डा. पंगेनी बताउँछन् ।

‘धुलो धुँवाको मात्रा बढी भएको ठाउँमा जानु भन्दा अलि खुल्ला ठाउँमा जानु उचित हुन्छ,’ उनी भन्छन्, ‘घर वरपर फोहोर जलाउँदा धुँवाको मुस्लो निस्कने गर्छ । त्यसैले फोहोरहरु जलाउनु हुँदैन, त्यसलाई व्यवस्थापन गर्नुपर्छ ।’

जाडोयाममा प्रदूषण बढेको बेला मर्निङवाक निस्कँदा प्रत्यक्ष रुपमा फोक्सोलाई असर गर्छ । फोक्सोमा असर गरेपछि बिस्तारै रक्तनलीहरुमा त्यसको प्रभाव पर्न थाल्छ र पछि गएर मुटुको रक्तनली साँघुरिने सम्भावना हुने मुटुरोग विशेषज्ञ डा. माधव विष्ट बताउँछन् ।

‘कसैको मुटुको नसा पहिलेदेखि नै साँघुरिएको छ भने चिसोले झन् खुम्चिन्छ । त्यसैले चिसोमा मर्निङवाक नजानु भनिएको हो,’ उनी भन्छन् ।

चिसोमा वायु प्रदूषण बढ्ने भएकाले सबैभन्दा पहिले त वायु प्रदूषण कम गर्नमा ध्यान दिनुपर्छ । डा. विष्ट भन्छन्, ‘घर वरपर फोहोर जलाउँदा धुँवाको मुस्लो निस्कने गर्छ । त्यसैले फोहोरहरु जलाउनु हुँदैन, त्यसलाई व्यवस्थापन गर्नुपर्छ । औद्योगिक क्षेत्र वरपरबाट मानवबस्ती हटाउनुपर्छ ।’

सुमित्रा लुइटेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ