५ वर्षीय बालकलाई अजिंगरको मुखबाट हजुरबुवाले बचाए

Thankot Times

थानकोट  ।

आफूभन्दा ३ गुणा लामो अजिंगरको आक्रमणबाट ५ वर्षका एक बालक नराम्ररी घाइते भएका छन् । आक्रमणपछि अजिंगरले ती बालकलाई घिसारेर स्विमिङ पुलसम्म लगेको थियो । यस क्रममा अजिंगरले बच्चालाई धेरै ठाउँमा टोक्यो पनि ।

संयोगवश, त्यतिबेला ती बालकका बुवा र हजुरबुवा स्विमिङ पुल वरिपरि नै थिए ।​ उनीहरुले तत्कालै बच्चालाई अजिंगरको पकडबाट छुटाउन सफल भए ।

५ वर्षीय ब्यू ब्लेक खासमा आफ्नो घरको स्विमिङ पुलमा स्विमिङ गर्ने तयारीमा थिए । त्यति नै बेला झाडीमा लुकेर बसेको अजिंगरले उनीमाथि हमला गरेको थियो ।

ब्यूका पिता बेन भन्छन्, ‘घटनाका बेला ब्यू स्विमिङ पुलको किनारामा टहलिरहेका थिए । मलाई लाग्छ कि अजिंगर पुलको किनारामा भएका झाडीमा शिकारको खोजीमा लुकेर बसिरहेको थियो । मैले नजिकैको झाडीबाट कालो छायाँजस्तो आकृति बाहिर निस्किएको देखे र उसले ब्यूको खुट्टातिर समात्यो ।’

पुलको छेउमा रहेका बालकका ७६ वर्षीय हजुरबुवाले तुरुन्तै स्विमिङ पुलमा हाम फालेर अजिङ्गरसहित बालकलाई स्विमिङ पुलबाट बाहिर निकाले ।

मेलबर्न रेडियो स्टेशन थ्रीएडब्ल्यूसँग घटनाबारे कुरा गर्दै ब्यूका पिता बेनले भने, ‘बुवाले ब्यूलाई मतिर फ्याँकेपछि मैले १५–२० सेकेन्डमा उसलाई अजिंगरको चंगुलबाट छुटाएँ । त्यसपछि मैले करिब १० मिनेटसम्म अजिंगरलाई समातिरहेँ ताकि बुवा र बच्चालाई शान्त पार्न सकूँ । उनीहरु दुबैजना नराम्रोसँग डराएका थिए ।’

यतिबेला बचचाले पनि पूरा हिम्मत देखाए । उसलाई खासै धेरै चोट लागेन ।

बेनले भने, ‘एकपटक बच्चाको शरीरबाट रगत सफा गरेपछि हामीले उसलाई नडराउन भन्यौँ । उसलाई अजिंगर विषालु हुँदैन पनि भन्यौँ ।’

बेनको परिवार अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तको तटीय शहर बायरन बेमा बस्छ । घटनापछि बेनले आफूले बच्चाको शरीरको घाउलाई नियालिरहेको बताए । घाउबाट संक्रमण नहोस् भनेर उनले सुनिश्चित गरिरहेका छन् ।

रेडियो स्टेशनसँगको कुराकानीमा बेनले उक्त इलाकामा अजिंगर पाइनु निकै सामान्य भएको बताएका छन् । बच्चालाई छुटाएपछि बेनले अजिंगरलाई पुनः झाडीमा  फ्याँकिदिए ।

उनले भने, ‘रोचक कुरा के छ भने छोडेपछि अजिंगर ‘सिन अफ क्राइम’ तर्फ फिर्ता भयो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *