हेटौँडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण

Thankot Times

थानकोट ।

बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ ।

धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रिपक्षीय सम्झौता भएको हो । 

हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुष्करचन्द्र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा आठ करोड अनुदान रकम उपलब्ध गराइएको अस्पतालका मेसु डा. सापकोटाले जानकारी दिए । 

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने सापकोटाले बताए ।

प्रत्यारोपण कार्य सुरु भए सातै प्रदेशका मिर्गौलाका रोगीलाई सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. जोशीले बताए । प्रत्यारोपण सेवा नहुँदा जिल्लाका मिर्गौला रोगी काठमाडौं, ललितपुर, भक्तपुर, चितवनलगायतका अस्पताल जाने गरेका छन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ