काठमाडौं महानगरले माग्यो आगामी बजेटका लागि सुझाव
थानकोट ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।
महानगरका अनुसार अनलाइन मार्फत बजेटबारे सुझाव पठाउन सकिने छ ।
जसका लागि महानगरले बुधबार सामाजिक सञ्जाल मार्फत क्यूआर कोर्ड सार्वजनिक गरेको छ ।
अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटको कस्तो व्यवस्था गर्नुपर्ला ? लगायत शहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएको महानगरले जनाएको छ ।
शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण ९ जेठ भित्र पठाइसक्नु पर्नेछ ।











