काठमाडौं उपत्यका मेयर्स फोरमको पहिलो बैठक सम्पन्न
थानकोट ।
काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाका सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
आइतबार ललितपुर महानगरपालिकाको कार्यालयमा बसेको उपत्यका मेयर्स फोरमको दोस्रो कार्यकालको पहिलो बैठकले सूर्यविनायक नगरपालिकाले अवलम्बन गरेको सामुदायिक विद्यालयमा निष्पक्ष प्रधानाध्यापक छनौट कार्यलाई अन्य पालिकाहरूले पनि अनुसरण गर्ने सहमति गरेको छ ।
यस्तै बैठकले उपत्यकाभित्रका सबै स्थानीय तहले सडक बत्ती र हाइमास लाइटका लागि आवश्यकता अनुसार बजेट विनियोजन गरी एउटै खरिद प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ ।
सबै स्थानीय तहले सडक सञ्जालमा आधारित रहेर डिजिटल रूपमा घरहरूको नम्बरिङ गर्ने परियोजनालाई लागू गर्ने बैठकमा सहमति भएको छ ।
यसै गरी सम्पदा पुनः निर्माणमा खरिद प्रक्रियाको विकल्पमा नेपाल सरकारले प्रबन्ध गरेको पृथक् कानुनी व्यवस्था तर्जुमा गरि माग्न केन्द्र सरकारसँग आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
भूकम्प पश्चात् नेपाल सरकारले १० करोड सम्मको सम्पदा पुनः निर्माणको काम उपभोक्ता समिति मार्फत गर्न पाउने व्यवस्था गरेको थियो। पुनः निर्माण प्राधिकरण खारेज भएसँगै कानुनी रूपमा सो व्यवस्था पनि खारेज भएको थियो ।
काठमाडौं उपत्यकामा १८ वटा नगरपालिका छन् । आइतबारको बैठकमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीसहित ११ वटा पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो ।
गत चैत २३ र २४ गते चन्द्रागिरि हिल्समा बसेको फोरमको पहिलो बैठकले फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई चयन गरेको थियो ।











