चन्द्रागिरिमा एक दर्जन पुनःर्स्थापना केन्द्र, सञ्चालक भन्छन् ‘सीपमुलक तालिम दिन पाए हुन्थ्यो !’
थानकोट ।
चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूले नगरक्षेत्रमा रहेका लागु पदार्थ दुर्व्यसनी पुनःर्स्थापना केन्द्र तथा सुधार गृहहरूको अनुगमन गरेका छन् ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यसहितको टोलीले सोमबार नगर क्षेत्रका विभिन्न वडाहरूमा सञ्चालनमा रहेका लागु पदार्थ दुर्व्यसनी पुनःर्स्थापना केन्द्रहरूको स्थलगत अनुगमन गरेको हो ।
सो क्रममा पुनःर्स्थापना केन्द्रका सञ्चालक एवं सेवाग्राहीसँग साक्षात्कार समेत गरिएको नगर प्रवक्ता खड्गीले जानकारी दिनुभयो । प्रवक्ता खड्गीका अनुसार अनुगमन गरिएका संस्थाको अवस्था सन्तोषजनक पाइएको छ ।
अनुगमनका क्रममा संस्थाका सञ्चालकहरूले पुनःर्स्थापना केन्द्रमा रेखदेखका ल्याइएका व्यक्तिहरूका लागि सीपमुलक तालिमको व्यवस्था गर्न सके पुनःर्स्थापनाको कार्य थप प्रभावकारी र नतिजामुलक हुन सक्ने धारणा राखेका थिए ।
नगर उपप्रमुखको अनुगमन टोलीले सुधार गृहका भान्सा, सुत्ने कक्ष, भाैतिक संरचना लगायतको निरीक्षण गरेको बताइएको छ ।
चन्द्रागिरि नगरका विभिन्न वडाहरूमा एक दर्जन भन्दा धेरै लागु पदार्थ दुर्व्यसनी पुनःर्स्थापना केन्द्र तथा सुधार गृहहरू सञ्चालनमा रहेका छन् ।
ती सुधार गृहहरूको अनुगमन निरन्तर रूपमा हुने नगरको सामाजिक विकास शाखाले जनाएको छ ।












