गत शनिबार थानकोट चेकपोष्टमा सडक दुर्घटना हुँदा घाइते भएका दुवै जनाको मृत्यु
थानकोट ।
गत शनिबार चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टस्थित नेपाल आयल निगम मोड नजिकै मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको समेत मृत्यु भएको छ ।
शनिबार दिउँसो ना.५ ख ५३२२ नम्बरको ट्रकले प्र.३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ गल्छी घर भएका ३७ वर्षीय गोविन्द प्रसाद अधिकारीको उपचारका क्रममा ट्रमा सेन्टरमा सोही दिन मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार मोटरसाइकल चालक अधिकारीकी श्रीमती जानुका अर्यालको उपचारको क्रममा सोमबार बिहान न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अधिकारी गल्छी गाउँपालिका वडा नं. ५ स्थित जलकन्या आधारभूत विद्यालय पाल्चोकको प्रधानाध्यापक थिए ।
उनी सो दिन शिक्षा सेवा आयोगको परीक्षामा सम्मिलित भइ श्रीमतीसँग घर फर्कने क्रममा रहेको बताइएको छ।
तस्बिरमा मृतक गोविन्द प्रसाद अधिकारी, तस्बिर स्रोतः सामाजिक सञ्जाल












