सुनकोशीमा फेला परेका शव पहिचान, एक जना अझै बेपत्ता

Thankot Times

थानकोट ।

गत शुक्रबार सिन्धुलीमा बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खस्दा बेपत्ता हुने मध्ये मंगलबार फेला परेको दुई जनाको शवको सनाखत भएको छ।

मंगलबार सवा ६ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। दुई वटै शवको सनाखत भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो।

उनीहरूलाई सशस्त्र प्रहरी बलको गोताखोरले बेपत्ता भएको गाडीभित्रैबाट फेला पारेको हो।

दुवैको शवलाई सिन्धुली अस्पतालको शववहानमा राखेर मंगलबार राति ८ बजे नै काठमाडौंतर्फ ल्याइएको छ।

गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे थियो। डिएसपी थापाका अनुसार गाडी खसेको स्थानबाट करिब दुई सय मिटर तल गाडी फेला परेको हो।

गोताखोरले गाडी अन्दाजी ३० फिट गहिराइबाट गाडी फेला पारी एक्सकाभेटरको सहयोगबाट बाहिर निकालिएको हो।

योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *