आजबाट मनकामना केबुलकारको टिकट मूल्य बढ्यो, २ तर्फी टिकटको मूल्य अब ७ सय ७० रूपैयाँ

Thankot Times

थानकोट ।

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारको टिकट मूल्यमा वृद्धि भएको छ ।

आज साउन १ गतेबाट लागु हुने गरी केबलकारको टिकट मूल्य वृद्धि गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

विद्युत महशुलको भार, मर्मत सम्भार खर्च लगायतका विविध कारणले टिकटदरमा समायोजन अपरिहार्य देखिएको मनकामना दर्शन प्रालिका स्टेशन नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनुभयो ।

शेरचनका अनुसार मनकामाना केबुलकारको टिकटको दर १० प्रतिशतले वृद्धि गरिएको छ । जसअनुसार अब नेपाली नागरिकको लागि २ तर्फी टिकट मूल्य ७ सय ७० रूपैयाँ कायम हुनेछ यसअघि टिकटको मूल्य ७०० रूपैयाँ रहेको छ ।

बालबालिकाका ४ सय ६० रूपैयाँ, विद्यार्थीका लागि ५ सय ७५ रूपैयाँ, ज्येष्ठ नागरिकका लागि ५ सय ४० रूपैयाँ तोकिएको छ । यसैगरी अपाङ्गता भएका व्यक्तिहरूका लागि टिकट मूल्य ३ सय ८५ रूपैयाँ तोकिएको छ । मनकामना केबुलकार हुँदै बोका बोकेको प्रति बोका २ सय ७५ रूपैयाँ कायम हुँदा भारतीय नागरिकहरूका लागि केबुलकारको टिकट मूल्य भारू ६ सय ७० तथा बालबालिकाका लागि भारू ४०० तोकिएको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि गत श्रावण ४ गते केबुलकारको टिकट मूल्यमा वृद्धि गरेको थियो ।

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुहरूको औसत संख्या दैनिक ४ हजार ७ सय भन्दा धेरै रहेको कम्पनीले जनाएको छ ।

मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १० लाख २१ हजार २ सय ३९ यात्रीहरूले केबुलकार सेवा लिइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *