बागमती प्रदेश सरकारको आम्दानी घट्यो, अनुमान भन्दा ९ अर्ब कम राजस्व सङ्कलन

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा गिरावट आएको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा अनुमान भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा राजस्व सङ्कलनमा अनुमानभन्दा ९ अर्ब  रुपैयाँ कम उठेको हो । प्रदेश सरकारका विभिन्न निकायहरुले उक्त वर्षमा अनुमान गरेभन्दा ९ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमन गरेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ८८ करोड रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क छ ।

केही राजस्व शीर्षकको हिसाव मिलानको काम बाँकी नै रहेकाले राजस्व सङ्कलनको केही बढ्न सक्ने उनले बताए । प्रदेश सरकारले विभिन्न आय स्रोत र गत वर्षको नगद मौज्दात सहित ७० अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए । 

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ को सुरुवातसम्ममा नगद मौज्दातसहित ७७ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन गरेको उनको भनाई छ । प्रदेश सरकारले सो आर्थिक वर्षमा संघीय र स्थानीय तहबाट बाँडफाँड हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको हो । संघीय र स्थानीय तहबाट बाँडफाँड हुने मुल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन् दस्तुर, मालपोत लगायतका राजस्वमार्फत् अनुमानको ७४ प्रतिशत मात्र सङ्कलन भएको छ । सो शीर्षकहरुअन्तर्गत २८ अर्ब ४५ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमान गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब ४ करोड रुपैयाँ मात्र सङ्कलन भएको हो रातोपाटीमा खबर छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *