साँझसम्म काम गर्ने कर्मचारीलाई थप ४५ प्रतिशत सुविधा थपिँदा करार सेवाका २३ कर्मचारी हटाइँदै

Thankot Times

थानकोट ।

मकवानपुरको मनहरी गाउँपालिकाले करार सेवामा रहेका २३ जना कर्मचारीलाई हटाउने भएको छ ।

साउन १ गते बसेको मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले उद्यम विकास सहजकर्ता गोपीराम बल, प्राविधिक सहायक उज्वल रानामगर, मनहरी गाउँपालिका १ की अहेब सुष्मा श्रेष्ठलाई करार सेवामा नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै गाइ भैंसी मा देखिएको लम्की स्कृन रोगको उपचारको लागि भनेर राखिएको पाँच जना प्राबिधिकलाई पनि हाल महामारी नियन्त्रणमा रहेको जनाउँदै गाउँपालिकाले उनीहरुको करार अवधि नथप्ने निर्णय गरेको छ। यसै गरि मनहरी गाउँपालिकाबाट चितवन र हेटौँडातर्फ निकासी हुने गिटी, बालुवा, ढुंगाबापतको कर संकलनका लागि भर्ना गरिएका १५ जना कर्मचारीलाई पनि हाल ढुङ्गा बालुवा निकासी बन्द रहेकाले करार सेवा अवधि नथप्ने निर्णय गाउँपालिकाले गरेको छ ।

कर संकलन गर्न आफू अनुकूलका कर्मचारी गाउँपालिकाले भर्ती गरेको थियो । यी २३ जना बाहेक अरु सबै शाखाहरुमा कार्यरत करार सेवाका कर्मचारीहरुको अवधि पुस मसान्तसम्म थप गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

बैठकले २०८० असार २५ गतेसम्म पेस भएका योजनाका फाइलहरु र भुक्तानी गरी फरफारक गरिएका योजनाहरु अनुमोदन गरेको छ भने काम सम्पन्न हुन बाँकीकाे म्याद थपका लागि माग गरेका १२ वटा योजनाका उपभोक्ता समितिलाई म्याद थप गर्ने निर्णय पनि गरेको छ ।
साउन १ कै कार्यपालिकाले बैठकले राती साँझमा समेत बसेर गाउँपालिकाको काम गर्ने कर्मचारीहरुलाई अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आफूले पाउँदै आएको तलब सुविधामा अब ४५ प्रतिशत थप सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी लेखा प्रशासनमा काम गर्ने कर्मचारीले ३५ प्रतिशत थप सुविधा, राजश्व, जिन्सी र प्रशासनका कर्मचारीले ३० थप प्रतिशत सुविधा पाउनेछन् । योजना, प्राविधिक, कृषि, पशु, शिक्षा, स्वास्थ्य शाखासहित सबै शाखामा कार्यरत कर्मचारी र वडा सचिवले समेत २० प्रतिशत अतिरिक्त सुविधा प्राप्त गर्ने निर्णयमा उल्लेख छ ।

कार्यालय सहयोगी र चालकले भने १५ प्रतिशत मात्रै अतिरिक्त सुविधा पाउने निर्णय भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *