४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा पूर्णरुपले प्रतिबन्ध लगाउने मेयर्स फोरमको निर्णय
थानकोट ।
काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकको झोला प्रयोगमा पूर्णरुपले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भक्तपुरमा आइतबार बसेको सो फोरमको बैठक काठमाडाैं उपत्यकाको फोहोरमैला व्यवस्थापनको समस्याको सम्बन्धमा केन्द्रित रहेको फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बताउनु भयो। सुर्यविनायक नगरपालिकाको व्यवस्थापनमा बसेको उक्त बैठकमा काठमाडौं उपत्यकाका विभिन्न महानगर तथा नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरुको उपस्थिति रहेको थियो। काठमाडौं उपत्यका मेयर्स फोरमका महासचिव घनश्याम गिरीका अनुसार बैठकले उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकको झोला प्रयोगमा पूर्णरुपले प्रतिबन्ध लगाउने निर्णय गरेको कुरा जानकारी दिनुभयो ।
बैठकले फोहोरमैला व्यवस्थापनको सम्बन्धमा हाल देखा परेको समस्याहरुको दीर्घकालीन समाधानका लागि सबै पालिकाको तर्फबाट कुहिने र नकुहिने फोहोर घर-घरमा नै वर्गीकरण गर्ने र सम्भव भएसम्म स्थानीय स्तरमा नै कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादनका लागि व्यवस्था मिलाउने निर्णय भएको बताइएको छ ।
काठमाडौं उपत्यका मेयर्स फोरमको सो बैठकमा कुहिने र नकुहिने फोहोर संकलन गर्न सातामा निश्चित बार तोकि संकलन र व्यवस्थापन गर्ने निर्णय समेत भएको मेयर्स फोरमले जनाएको छ ।
गत चैत २३ र २४ गते चन्द्रागिरि हिल्समा बसेको फोरमको पहिलो बैठकले फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई चयन गरेको थियो ।















