निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनको जिम्मेवारी नदिन उपत्यकाका मेयरहरूको जोड

Thankot Times

थानकोट ।

उपत्यकाका जनप्रतिनिधिले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुने बताएका छन् ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा उपत्यकाका नगर प्रमुखहरूको उपस्थितिमा भएको ‘फोहोरमैला व्यवस्थापन कार्ययोजना ०८०’ को मस्यौदामाथिको छलफलमा उनीहरूले यस्तो बताएका हुन् ।

ललितपुर महानगर मेयर चिरिबाबु महर्जनले संघीय सरकारले ल्यान्डफिल साइट बन्चरेडाँडाको व्यवस्था गर्नुपर्ने बताए । उनले हाल फोहोर व्यवस्थापन गरिरेको संस्था नेप बेस्ट कम्पनी प्रालिलाई खारेज गरी नयाँ प्रविधि अवलम्बन गरी फोहोर व्यवस्थापन गर्नुपर्ने बताए । 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय तहहरूलाई जिम्मेवार बनाई फोहोर व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखे । यस्तै, कागेश्वरी-मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले फोहोरमैला व्यवस्थापनमा माफियाहरूको चलखेल बन्द गर्नुपर्ने बताए । उनले फोहोरमैलासम्बन्धी तीन तहको काम, कर्तव्य र अधिकार स्पष्ट हुनुपर्नेमा जोड दिए ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले फोहोर उत्पादनको स्रोतमै नियन्त्रण गर्नुपर्ने र यसका लागि जनचेतना जगाउनुपर्ने बताए । 

छलफलमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलगायतले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि केन्द्र सरकारबाटै पहल हुनुपर्ने र निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिए सरकार अक्षम हुँदै जाने बताए ।

छलफलमा मन्त्री सीता गुरुङले फोहोरमैला व्यवस्थापन कुनै एउटा पालिका वा उपत्यकाको मात्रै समस्या नभई देशभरकै साझा समस्या भएको बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *