कीर्तिपुरमा ट्राफिक प्रहरीको सरप्राइज चेकिङ, ४२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा
थानकोट ।
कीर्तिपुरमा बिहीबार गरिएको ट्राफिक प्रहरीको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ४२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।
१३५ भन्दा बढी सवारीसाधन चेक गर्दा ह्याण्डब्रेक ठीक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका ४२ वटा सवारीसाधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । जसमा पीकअप गाडी १७ वटा, टाटासुमो १०, बस र हाइस ३/३ वटा र अन्य सवारीसाधन ९ वटा रहेका छन् ।
सवारीसाधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ । अवस्था ठीक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारीसाधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।
फाइल फोटो












