एमएसीसी परियोजनाका लागि मकवानपुरको आग्रामा जग्गा अधिग्रहणको काम सुरु
थानकोट ।
अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा नेपालमा सञ्चालन हुने परियोजनका लागि जग्गा अधिकरणको काम सुरु भएको छ । नेपालको संसदले एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट अनुमोदन गरेपछि एमसीसीको परियोजना कार्यान्वयन गर्ने नेपालको संस्था एमसीए नेपालले काम अगाडि बढाएको हो ।
यो परियोजनाअन्तर्गत सञ्चालन हुने विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गर्दै मकवानपुरमा अधिग्रहण हुने जग्गाबारे जानकारी दिएको छ । थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । प्रशासन कार्यालयले २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित निवेदन दिन भनेको छ ।
४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो । यसअघि पाल्पामा पनि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको थियो ।
यो परियोजना यही १४ भदौबाट कार्यान्वयनमा जाँदैछ ।
परियोजना सुरुवात गर्न एमसीसीकी सीईओ एलिसा अल्ब्रट नेपाल आउने बताइएको छ ।












