पर्यटन पर्वद्धनका लागि थाहा नगरमा पहिलोपटक फिल्म फेस्टिबल हुने
थानकोट ।
चन्द्रागिरि नगरसँग सीमा जोडिएको मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पहिलोपटक फिल्म फेस्टिबल हुने भएको छ ।
‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नाराका साथ मंसिर ९ देखि १५ गतेसम्म फिल्म फेस्टिबल हुने हुने शनिबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो।
थाहा कला केन्द्रले आयोजना गर्ने फिल्म फेस्टिबलमा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको प्रत्यक्ष सहभागिता रहने सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत छायांकनस्थल विकास तथा प्रचार गर्ने, नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मीबीच प्रचार गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो क्षेत्रका अनुभवी कलाकारलाई थाहानगर बारे जानकारी गराउने उद्देश्यले फिल्म फेस्टिबल आयोजना हुन लागेको आयोजक थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिए ।
फिल्म फेस्टिबकै अवसरमा पर्यटन प्रवर्द्धन हुने खालका तस्वीर कार्यक्रम स्थलमा राखेर अवलोकनमा आकिर्षत गराउने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई पालिकासँग पारस्परिक गराउन प्रयास गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो निर्माता, निर्देशक तथा निर्माण समूहसग विशेष अन्तक्रिया गर्ने अध्यक्ष मोक्तानले बताए ।
फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । गाहा कला केन्द्रका अध्यक्ष मोक्तानले भने-‘फिल्म फेस्टिबलमा विभिन्न समूहको सहभागिताबाट आएका सामग्रीबाट पनि छानिएका डकुमेन्ट्री, फिचर फिल्म र शर्ट फिल्म प्रदर्शन हुने भएकाले छुट्टै पहिचान ल्याउन सक्नेमा हामी विश्वस्त छौं ।’ फिल्म फेस्टिबलका लागि २७ लाख रूपैयाँ भन्दा बढी लागत अनुमान गरिएको कार्यक्रम उपसंयोजक राजिव स्याङतानले जानकारी दिए ।












