दोश्रो आईएसएफ यु-१५ जिम्न्यासाइड, नेपाललाई उत्कृष्ठ टोली सम्मान
थानकोट ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजनामा यही भदौ ३ देखि १० गतेसम्म ब्राजिलको रियो दि जेनेरियाेमा भएको दोश्रो आईएसएफ यु-१५ जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट टोली पदकबाट सम्मानित गरिएको छ।
विश्वभरबाट सहभागी ४४ मुलुक मध्येबाट १७ मुलुकलाई उक्त सम्मान दिइएको थियो। आईएसएफका अध्यक्ष फ्रान्सका लाउरेन्ट पेट्रान्काले नेपाली टोलीका प्रमुख चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित ब्राइट फ्युचर माविका अध्यक्ष मोहनकुमार कार्कीलाई सो उत्कृष्ट राष्ट्रको तक्मा प्रदान गरेका थिए।
ब्राजिलमा सम्पन्न ‘मिनी ओलम्पिक’मा चन्द्रागिरिकी १२ वर्षीया पौडीबाज श्रयला महर्जन
सो अवसरमा टोली प्रमुख कार्कीले सो सम्मान नेपालको लागि निकै महत्वपूर्ण भएको बताए। उनले भने‘,नेपाल आईएसएफको हरेक अभियानको एक हिस्सा बन्दै आएको छ। नेपाल आईएसएफका हरेक गतिविधिहरुमा नियमित सहभागी हुँदै आएको छ। यु-१५ जिम्न्यासाइड पनि त्यसको निरन्तरता हो। यसले हामीलाई उर्जा थपेको छ।’
प्रतियोगितामा नेपालबाट ५ खेलका १९ खेलाडीहरुले भाग लिएका थिए। जसबाट नेपालले तेक्वान्दोबाट एक स्वर्ण र बक्सिङबाट दुई कास्य गरी कुल तीन पदक जित्न सफल भएको थियो।
नेपालबाट कुल ३२ सदस्यीय टोलीले प्रतियोगितामा भाग लिएको थियो। त्यसमा बक्सिङका एक र तेक्वान्दोका दुई गरी तीन जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की आईएसएफका केन्द्रिय कार्यकारिणी समितिका सदस्य हुन्। उनले प्रतियोगितामा तेक्वान्दो खेलमा जिम्मेवारी सम्हालेका थिए।













