यस्तो बन्दैछ चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुतमार्ग, ५७ मिनेटमा चन्द्रागिरिबाट चितवन सरर
थानकोट ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भैरहँदा उत्पन्न समस्याका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले मुलुकको संघीय राजधानी काठमाडौंसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन- नारायणघाट सडक खण्डमा पटक-पटक समस्या आईरहेको बताउँदै यसले दैनिक यात्रा गर्ने देशभरका आम नागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई भोग्नुपरेको बताएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० को बजेटमा चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुतमार्ग परियोजना बनाउने घोषणा गरेका तत्कालीन अर्थ मन्त्री शर्माले सो परियोजनाको सम्भाव्यता अध्ययन सकिएको जानकारी पनि दिएका छन् ।
अध्ययन अनुसार सो द्रुत मार्गको कुल लम्बाई ९६.५० कि.मी हुनेछ । जसमा सुरुङको कुल लम्बाई २९.८०किलोमिटर तथा पुलको लम्बाई ९.५३० किलोमिटर हुने प्रक्षेपण गरिएको छ ।
३.५० मिटर चाैडाइ भएको चार लेनको सो सडकमा ५६ वटा कलभर्ट, २.५० मिटर चाैडाइको पेभ सोल्डर रहने सो द्रुत मार्गको डिजाइन गति ८०-१२० कि.मी प्रति घण्टा रहनेछ जसअनुसार चन्द्रागिरिबाट पालुङ हुँदै चितवनसम्म यात्रा गर्न ५७ मिनेट लाग्नेछ ।
पूर्व अर्थ मन्त्री शर्माले आधुनिक प्रविधि प्रयोग गरेर नारायणघाट-काठमाडौंं द्रुतमार्ग निर्माण गरेर एक घण्टामा यात्रा गर्न सकिने अध्ययनले देखाएको बताउँदै शर्माले सो मार्गलाई कालिगण्डकी किनार हुँदै पाल्पाको रामपुरसम्म र त्यँहावाट बुटवल र पोखरातर्फ पनि सुरुङमार्ग निर्माण गरेर लुम्बिनी-नारायणघाट- काठमाडौं २ घण्टामा, लुम्बिनी-पोखरा १ घण्टामा तथा पोखरा-नारायणघाट-काठमाडौंं दुई घण्टामै यात्रा गर्न सकिने धारणा राखेका छन् ।












