पेप्सीकोलामा ४ वटा सवारी साधन आपसमा ठोक्किँदा घाइते भएका १४ जना मध्ये २ जनाको ज्यान गयो
थानकोट ।
काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा घाइते भएका १४ जना मध्ये २ जनाको ज्यान गएको छ।
जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा. ३ ख. ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा. ६ च. ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ज्यान गुमाउनेमा स्कुटरमा पछाडी सवार सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की छिन् । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी मोटरसाइकल चालक सर्लाही शान्तिटोल बस्ने २१ वर्षीय राज भट्टराईको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।












