परिवारसहित चन्द्रागिरि रिसोर्टमा प्रचण्ड, ‘नेकपा एमाले जिन्दावाद’ को नाराले खल्लो बनाइदियो ट्रिप !

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो शनिबार बिदा मनाउन चन्द्रागिरि रिसोर्ट पुगेका छन्। चन्द्रागिरि नगरपालिका २ घट्टेडाँमा आयोजित जनतासँग माओवादी विशेष अभियानका उद्घाटनपछि प्रधानमन्त्रीको परिवार दिउँसो करिब ४ बजे प्रधानमन्त्री प्रचण्ड परिवार सहित चन्द्रागिरि रिसोर्ट पुगेका हुन्। 

कान्छी छोरी गंगा दाहाल, नाती तथा सचिवालयका केहि सदस्य लिएर प्रधानमन्त्री प्रचण्ड केबलकार चढेर चन्द्रागिरि हिल्स हुँदै रिसोर्ट पुगेका हुन्। रिसोर्ट जाने क्रममा चन्द्रागिरि हिल्स पुगेका प्रधानमन्त्री प्रचण्ड परिवारलाई चन्द्रागिरि हिल्सका निर्देशक हेमराज ढकाल सहितको टिमले स्वागत गरेको थियो। 

सिमित सुरक्षाकर्मी सहित रिसोर्ट पुगेका प्रधानमन्त्री प्रचण्डको चन्द्रागिरि रिसोर्टको भ्रमण विशुद्ध पारिवारिक भएको रिसोर्ट स्रोतले जनाएको छ। ठुलो सङ्ख्याको सुरक्षाकर्मीलाई चन्द्रागिरि हिल्सको प्रस्थान बिन्दुमै राखेर सिमित सुरक्षाकर्मी लिएर प्रचण्ड चन्द्रागिरि हिल्स हुँदै रिसोर्ट पुगेका हुन्।  

चन्द्रागिरि हिल्स पुगेर रिसोर्ट जानलाई हाइस चढेका प्रधानमन्त्री प्रचण्डले हाइसको झ्यालबाटै चन्द्रागिरि हिल्स अवलोकनका लागि पुगेकालाई अवलोकनकर्तासँग संवाद गर्ने प्रयास गरेका थिए। आम सर्वसाधारणसँग संवाद गर्ने चाहना भने त्यहाँ उपस्थिति अवलोकनकर्ताबाट ‘नेकपा एमाले जिन्दावाद’ को नाराले खल्लो बनाइदिएको छ। 

प्रचण्डले हाइसको झ्यालबाटै आम सर्वसाधारणसँग संवाद गर्न खोज्दा त्यहाँ उपस्थित मध्ये एक बालकले ‘नेकपा एमाले जिन्दावाद’ को नारा लगाएका थिए।

उनको नारामा उपस्थित अन्य केहि अवलोकनकर्ताले साथ दिएपछि प्रधानमन्त्री प्रचण्ड संवाद छोट्याएर रिसोर्ट लागेका थिए। प्रधानमन्त्रीको टोली आइतबार चन्द्रागिरिबाट फर्किएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *