जुम्लामा नेकपा माओवादी केन्द्रका सदस्यले जाँड-रक्सी खान नपाउने

Thankot Times

थानकोट ।

सत्तारूढ नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड-रक्सी खान नपाउने निर्णय गरेकाे छ ।

तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गरेकाे जानकारी गराएकाे हाे ।

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न/नगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले भदाै १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाे छ । याे तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिँजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा. कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको जानकारी गराइएको उज्यालोमा खबर छ ।

अभियानको अवधिमा सरकारको जनपक्षीय सुशासन र संमृद्धिको कार्यलाई नागरिककाे घरदैलोमा पुर्‍याइदिने, अभियानलाई तीन चरणअन्तर्गत पहिलो चरण वडामा, दोस्रो चरण पालिकामा र तेस्रो चरणमा जिल्लास्तरमा गतिविधि केन्द्रित गर्ने निर्णय भएकाे छ ।

पत्रकार भेटघाटमा इन्चार्ज लामाले पार्टीकाे यो अभियानलाई सफल बनाउन सबैलाई अपिल गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *