तडकभडक गरे कारबाही गर्ने प्रशासनको चेतावनी, तर कुपन बाँढेर तिज मनाउँदै वडा कार्यालय !
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिजलाई भड्किलो नबनाउन निर्देशन दिँदै मंगलबार विज्ञप्ति जारी गरेको छ ।
जिल्ला प्रशासनले विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको देखिएको भन्दै नियन्त्रण गर्न निर्देशन दिएको हो । ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु र नगराउनु हुन हार्दिक अनुरोध छ,’सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै पर्व मनाउने सन्दर्भमा अनावश्यक तडक भडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारबाही हुने व्यहोरा सूचनाद्वारा जानकारी गराईएको छ। तर, प्रशासनको निर्देशन अटेर गरेर बुढानिलकण्ठ नगरपालिका, चन्द्रागिरि नगरपालिका लगायतका स्थानीय तह अन्तर्गतका केही वडा कार्यालयहरूले टोकन नै बाँढेर तिज मनाउने कार्यक्रम तय गरेको बुझिएको छ ।
ती कार्यकाे सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ ।












