प्रधानमन्त्री दाहाल राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान, खड्का कावा प्रधानमन्त्री
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गरेका छन्।
उनलाई बिदाइ गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहित मन्त्रिपरिषद् सदस्य र विशिष्ट व्यक्ति पुगेका थिए।
आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन्।
यसैबीच उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।












