चन्द्रागिरिसहित देशभरका शिवालयमा तीजको रमझम, भक्तजनको घुइँचो
थानकोट ।
हरितालिका तीज पर्वका अवसरमा चन्द्रागिरि नगरपालिकाका विभिन्न महादेव मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ ।
पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
तस्बिरः शुशिल श्रेष्ठ












