मच्छेगाउँमा राष्ट्रव्यापी लाखे नाच प्रदर्शनी आज पनि जारी रहने, ३८ वटा समुहले नाच देखाउने
थानकोट ।
हिजो शुक्रबारबाट नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा २ दिने लाखे प्रदर्शनी अन्तर्गत आज ३८ वटा समुहले लाखे नाच देखाउने तालिका रहेको छ ।
प्रदर्शनीमा सहभागिताका लागि नाम दर्ता गराएका ५६ मध्ये पहिलो दिन हिजो शुक्रबार १८ वटा समुहले लाखे नाच देखाएका छन् ।
मच्छेगाउँमा राष्ट्रव्यापी लाखे नाच प्रदर्शनी सुरू, पहिलो दिन १८ समुहले देखाए नाच (फोटो फिचर)
प्रदर्शनीको संघीय सांसद् राजेन्द्रकुमार केसी हिजो शुक्रबार दिउँसो उद्घाटन गरेका थिए । सो क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, कीर्तिपुर नगरका उपमेयर शुभलक्ष्मी शाक्य,चन्द्रागिरि नगरका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका क्षेत्रीय तथा स्थानीय नेताहरू लगायतको समेत उपस्थिति रहेको थियो ।
‘आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं’ नाराका साथ यसपटक आयोजना भएको लाखे नाच प्रदर्शनी कार्यक्रमको दोश्रो दिन आज शनिबार नायक भुवन केसी, सविन श्रेष्ठ, गायक कृष्ण विक तथा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतलाई सम्मान गरिने तालिका रहेको कार्यक्रम संयोजक निकेश शाहीले जानकारी दिनुभयो ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।
गत वर्ष विभिन्न जिल्लाका ४२ समुहले लाखे नाच प्रदर्शनीमा सहभागिता जनाएका थिए ।










