१९औं एसियाडः नेपालको खातामा कम्तीमा एक कास्य पदक पक्का
थानकोट ।
जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले कम्तीमा एउटा कास्य पदक पक्का गरेको छ ।
नेपालले महिला कबड्डीमा कास्य पदक जित्ने पक्का भएको हो । नेपालले एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको हो ।
महिला कबड्डीको बुधबार खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा इरानले बङ्गलादेशलाई ५४-१६ अङ्कले हराएपछि नेपालको पदक पक्का भएको हो । बुधबारको नतिजापछि समूह ‘बी’ बाट इरान र नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा पराजित भए पनि नेपालको हातमा कम्तीमा कांस्य पदक पर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुबै टोलीलाई कांस्य पदक प्रदान गर्ने प्रावधान रहेको छ । एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो ।
एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात राष्ट्रले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन् । नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको भने टुङ्गो लागिसकेको छैन्।












