१९औं एसियाली खेलकुद आज सकिँदै, समापन समारोहमा नेपालको झण्डा एरिकाले बोक्ने
थानकोट ।
चीनको हाङझाउ शहरमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को समापन समारोहमा नेपालको झण्डा कराँते खेलाडी एरिका गुरुङ बोक्ने भएकी छिन् ।
नेपाल ओलम्पिक कमीटि र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समापन समारोहको मार्चपासमा नेपालको झण्डा एरिकालाई बोक्न दिने निर्णय गरेको हो ।
एसियाडको औपचारिक समापन आइतबार स्थानीय समय अनुसार बेलुका ८:०० बजे हुनेछ । एरिकाले शनिबार बेलुकी कराँतेमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाएकी थिइन्
यसअघि एसियाडको उद्घाटन सत्रको मार्चपासमा नेपालको झण्डा बीरबहादुर महरा र उशुकी निमा घर्तीमगरले बोकेका थिए ।
एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको थियो ।
जसमा महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी थिए । नेपालले कराँतेमा एक रजत र महिला कबड्डीमा कांस्य पदक जितेर एसियाड यात्रा पूरा गर्दैछ ।
एसियाडमा नेपालको सहभागिता सङ्ख्या अहिलेसम्मकै ठूलो हो ।
एसियाडको अन्तिम दिन आइतबार बिहान कराँतेको महिला ८५ केजीमुनि तौल समूहको अन्तिम ३२ को खेलमा नेपालकी सविना श्रेष्ठ चीनकी रानरान लीसँग ३-१ अङ्कले पराजित भएसँगै नेपालका तर्फबाट सबै खेलमा चुनाैती सकिएको थियो ।
कराँतेको खेलसँगै एसियाडमा समावेश ४० वटै खेलको सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको छ ।












