इजरायल आक्रमणबाट नेपालीको मृत्युबारे यस्तो दूतावासको आधिकारिक जानकारी
थानकोट।
प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपालीको ज्यान गएको औपचारिक पुष्टि भएको छ ।
इजरालयमा रहेको नेपाली दूतावासले आतइबार राति एक विज्ञप्तिमार्फत दक्षिण इजरायलको किवुज अलुमिममा आक्रमणबाट १० जना नेपालीको निधन भएको जनाएको हो ।
मृतकको नामको सूचीको छिट्टै सार्वजनिक गरिने दूतावासले जनाएको छ । चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजी कार्य भइरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताएको छ ।
साथै, इजरायलमा रहेका नेपालीलाई संयमता अपनाएर दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरिएको छ ।
हमास समूहले शनिबार अचानक इजरायलयमा आक्रमण गरेको थियो ।
जसबाट ठूलो जनधनको क्षति भएको छ ।
यसैबीच
परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ । इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो ।
मृतकहरूको शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले बताएको छ ।
इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको मन्त्रालयले जानकारी दिएकाे छ ।












