दशैंमा घर फर्कने यात्रुले कलंकीबाटै सास्ती व्यहोर्नुपर्ने, थानकोट जोडिने प्रमुख ४ सडकको बिजोग
थानकोट ।
सोमबारबाट दशैंका लागि घर फर्कनेहरूका लागि अग्रिम टिकट बुकिङ खुलेको छ ।
पर्व नजिकिँदै गर्दा देशभरका प्रमुख सडकहरू मर्मत नहुँदा काठमाडौं र अन्य सहरी क्षेत्रबाट दसैँ मनाउन घर फर्कने यात्रीले सास्ती व्यहोर्नुपर्ने अवस्था छ ।
राजधानीबाट सबैभन्दा धेरै सवारी साधन बाहिरिने प्रमुख नाका कलंकीबाट नै सडकका खाल्डाखुल्टी सुरु हुन्छन् । नागढुंगा आइपुग्दा सवारी साधनहरूले सहज रूपमा गुड्न पाउने अवस्था छैन् । नागढुंगा-मुग्लिन सडक विस्तारको कार्यका कारण नागढुंगाबाट ओरालो लागेपछि यात्रुहरूले थप सास्ती व्यहोर्नपर्ने निश्चित छ ।
सडक विभागको तथ्यांकअनुसार तीन हजार ६ सय दुई किलोमिटर सडक मर्मत गर्नुपर्नेमा हालसम्म ९ सय ६१ किलोमिटर अर्थात् २७ प्रतिशत मात्रै दसैं लक्षित सडकको मर्मत भएको छ ।
सडकमा रहेका खाल्डाखुल्डीमध्ये ३२ प्रतिशत मात्रै पुरिएका छन् ।
अहिले नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिीन–पोखरा, कमला–कञ्चनपुर, ढल्केबर–कोशी ब्यारेजलगायतका सडक स्तरोन्नति भइरहेका छन् । सडक चौडा गर्दा कालोपत्रे हटाइएको छ । फलस्वरूप त्यहाँ खाल्डाखुल्डी पनि छन्, जुन अझै मर्मत भएको छैन । यसले गर्दा त्यहाँको यात्रा समय लम्बिएको छ । निर्माण कम्पनीकै कारण नायणगढ–बुटवल, मुग्लिन–पोखरा सडकखण्डको स्तरोन्नतिमा ढिलाइ भएको छ । यसैगरी अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति गर्ने काम पनि निर्माण कम्पनीका कारण ढिलाइ भएको छ । कैलालीको भीमदत्त राजमार्गको झन्डै तीन सय मिटर सडक भासिएको छ, जुन दसैंअघि मर्मत गर्न नसकिने महानिर्देशक ढकाल बताउँछन् ।
काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा आवतजावत गर्ने यात्रुहरूले निरन्तर सास्ती खेप्दै आएका छन् । हेटौँडाबाट काठमाडौं जोड्ने आठवटा राजमार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–बल्खु, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु, हेटौँडा–भीमफेदी–फाखेल–मातातीर्थ–कीर्तिपुर, हेटौँडा–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट, हेटौँडा–दामन–टिस्टुङ–नौबिसे–थानकोट (त्रिभुवन राजपथ), हेटौँडा–कुलेखानी–चन्द्रागिरि हुँदै थानकोट, हेटौँडा–ठिंगन–टीकाभैरव–सातदोबाटो (कान्ति लोकपथ) र हेटौँडा–नारायणगढ–मुग्लिन–नौबिसे–थानकोट सञ्चालनमा छन् ।
नयाँ पत्रिका दैनिकबाट











