छैटाैं नैकाप गोल्डकपमा २७ टिम, पहिलो खेल साबिक विजेता तारकेश्वर र क्लीन भीजनबीच हुने

Thankot Times

थानकोट ।

असोज २७ गते शनिबारबाट सुरु हुने चन्द्रागिरि नगरकै प्रतिष्ठित फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करणमा २७ टोलीले सहभागिता जनाउने भएका छन् ।

बिहीबार साँझ सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताका पहिलो चरणका खेलहरू कार्तिक ३ गतेभित्र सकिनेछन् । दोश्रो चरणका खेलहरू कार्तिक १४ गतेबाट सुचारू हुने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता तारकेश्वर युवा क्लब र क्लीन भीजन यूनिटी बीच हुने भएको छ।

यसपटक प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मीले पनि पहिलो सहभागिता जनाउने भएको  छ।

खेल तालिका सार्वजनिक गर्न आयोजित कार्यक्रममा चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि वडा नं. १३, १४ र १५ का वडाध्यक्षहरू क्रमश श्रीकृष्ण खत्री, राजभाइ महर्जन र घनश्याम लुँइटेल लगायत प्रतियोगितामा सहभागी क्लब तथा टिमका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।

गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।

यस्तो छ छैटाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार सार्वजनिक भएको खेल तालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *