छैटाैं संस्करणको नैकाप गोल्डकप आजबाट, उद्घाटन खेल तारकेश्वर र क्लीन भीजनबीच हुने
थानकोट ।
चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करण आज शनिबारबाट सुरू हुँदैछ ।
चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा सञ्चालन हुने छैटाैं संस्करणको नैकाप गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता नागार्जुन नगरपालिकाको तारकेश्वर युथ क्लब र चन्द्रागिरि नगरपालिका ०५ महादेवस्थानको क्लीन भीजन यूनिटिबीच खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ सो अघि बिहान ११ बजेबाट प्रतियोगिताको उद्घाटन समारोह प्रारम्भ हुनेछ । सो क्रममा चन्द्रागिरि नगरका मेयर, चन्द्रागिरि नगरका उपमेयर, नागार्जुन नगरका मेयर, अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष लगायतको उपस्थिति रहने बताइएको छ ।
कार्तिक २५ गते शनिबार उपाधी छिनोफानो हुने प्रतियोगितामा कुल २७ टोलीले सहभागिता जनाउँदैछ । जसमा पहिलो पटक नेपाली सेनाको क्लब सहभागी हुने भएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।
यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।
नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।
गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ ।
चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।












