दोश्रो मातातीर्थ गोल्डकपः आजबाट दोश्रो चरणका खेल सुरु हुने
थानकोट ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना असोज २० गतेबाट जारी दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट दोश्रो चरणका खेलहरू सुरु हुँदैछन् ।
पहिलो हुनेले ३ लाख रूपैयाँ तथा शिल्ड पुरस्कार पाउने प्रतियोगितामा १९ टोलीले सहभागिता जनाएका छन् ।
दोश्रो चरणको पहिलो खेलमा आज दिनको पहिलो खेलमा दिउँसो १ बजे भकुण्डेचाैर फुटबल क्लब र सेतीदेवी क्लबबीच खेल हुने तालिका रहेको छ ।
सेतिदेवीले सिधै दोश्रो चरणमा छनोट भएको थियो भने गत संस्करणको डिफेन्डिङ च्याम्पियन किसीपिडी युथक्लबको चुनाैती सडेन डेथमा पन्छाउँदै भकुण्डेचाैर दोश्रोमा प्रवेश गरेको थियो ।
यसैगरी आजको दोश्रो खेलमा दिउँसो ३ बजे ब्लुबेल फुटबल क्लब र गणेशमान स्मृति फुटबल क्बल आमुने सामुने हुँदैछन् । ब्लुबेल पहिलो चरणमा वीआर ब्रदर्शको चुनाैती सडेन डेथमा पन्छाउँदै दोश्रो चरणमा प्रवेश गरेको हो भने गणेशमान स्मृतिले पहिलो चरणमा डी आर फुटबल क्लबको चुनाैती ३-० ले पन्छाउँदै ब्लुबेलसँगको भेट पक्का गरेको थियो ।
प्रतियोगिताका उपविजेताले नगद २ लाख रूपैयाँ तथा शिल्ड पाउने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रूपैयाँ हात पार्नेछ ।
व्यक्तिगत विधातर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।
चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातीर्थस्थित फुटबल मैदानमा सञ्चालन हुने नकआउट फुटबल प्रतियोगिता ‘नाइन ए साइड फर्म्याट’ मा खेलाइनेछ ।












