छैठाैं नैकाप गोल्डकपः वीआर ब्रदर्श र कुर्दनको विजयी सुरुवात
थानकोट ।
शनिबारबाट सुरु भएको चन्द्रागिरि नगरकै सर्वाधिक पुरस्कार राशिको नैकाप गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा क्रमश कुर्दन फुटबल एकेडेमी र वीआर ब्रदर्श फुटबल क्लब विजयी भएका छन् ।
चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा जारी प्रतियोगिताको अन्तर्गत दोश्रो खेलमा कुर्दन फुटबल एकेडेमीले गुणकेशरी युवा क्लबमाथि ४-१ को जित दर्ता गरेको छ ।
यसैगरी आइतबार सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा वीआर ब्रदर्श फुटबल क्बलले दीपशिखा युवा समुहको चुनाैती ३-१ ले पन्छायो ।
प्रतियोगिता अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र मध्यपुर जागरूक युवा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । सो अघि दिउँसो १ बजे किटिनी भञ्ज्याङ युवा क्लब र भीमसेन युवा क्लबबीच खेल हुनेछ ।
कार्तिक २५ गते शनिबार उपाधी छिनोफानो हुने प्रतियोगितामा कुल २७ टोलीले सहभागिता जनाउँदैछ ।
जसमा पहिलो पटक नेपाली सेनाको क्लबले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।
यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।
नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।
गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ ।
चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।












