विश्वकप क्रिकेटः न्युजील्याण्डको पहिलो हार, आज अफगानिस्तानको सामना गर्दै पाकिस्तान

Thankot Times

थानकोट ।

भारतमा जारी विश्वकप क्रिकेटमा घरेलु टोली भारतले लगातार पाँचा जित हात पार्दा अपराजित अर्को टोली न्युजील्याण्डले पहिलो हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत पाकिस्तानले आज अफगानिस्तानको सामना गर्दै छ ।

खराब अवस्थाबाट गुज्रिरहेको बाबर आजमको टोली दुई खेलमा हार बेहोरेको छ । त्यसैले आज भने छिमेकी अफगानिस्तानविरुद्ध जितको लक्ष्यमा छ ।

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भयो, त्यसपछि अस्ट्रेलियासँग हार बेहोर्यो । अफगानिस्तानले भने विश्व च्याम्पियन इंग्ल्यान्डलाई हराइसकेको छ । विश्व च्याम्पियन इंग्ल्यान्डलाई हराएपछि अफगानिस्तानको मनोबल उच्च छ । त्यसैले ऊ आज अर्को बलियो टोलीलाई हराउने दाउमा छ ।

चेन्नईमा हुने खेल पाकिस्तानका लागि महत्त्वपूर्ण छ । किनभने उसले यो खेल हारे, सेमिफाइनल पुग्ने बाटो कठिन हुनेछ । पाकिस्तानका ओपनिङ ब्याट्सम्यान इमाम उल हकले सोमबार अफगानिस्तानविरुद्धको खेलमा आफ्नो टोली नयाँ अवतारमा देखिने बताएका छन् ।

पाकिस्तानका स्पिनरले विश्वकपमा अहिलेसम्म प्रभाव पार्न सकेका छैनन् र चेन्नई मैदानको पिच स्पिनरहरूका लागि अनुकूल हुनेछ । अफगानिस्तान टोलीमा पनि रासिद खान, मुजिब उर रहमान र मोहम्मद नाबीजस्ता विश्वस्तरीय स्पिनर छन् । यी स्पिनरहरूविरुद्धमा पाकिस्तान नयाँ तयारी गरेको बताएको छ ।

विश्वकपमा एकतिहाइभन्दा धेरै खेल सकिएका छन् ।

पाकिस्तानले हम्बनटोटामा अफगानिस्तानविरुद्धको शृंखला ३-० ले जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *