धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ मृत भेटिए
थानकोट ।
धादिङ जिल्ला भलिबल टोलीका क्याप्टेन मनोज कुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।
बुधबार राति धादिङको सलाङमा आफु बास बसेको घरनजिकै उनी मृत फेला परेको बताइएको छ ।
श्रेष्ठ बुधबार नलाङ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल प्रतियोगिता खेलेर टिमसहित सलाङ बस्न गएका थिए । श्रेष्ठ सम्मिलित टिमले बुधबारको खेल जितेको थियो ।
बिहीबार बिहान उनी झुण्डिएको अवस्थामा भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशन/प्रसारण गरेका छन् । उनकी श्रीमती विदेशमा छिन् ।
जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङका अनुसार मनोजले धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलमा सहभागिता जनाएका छन् भने पछिल्ला वर्ष जिल्ला बाहिर आयोजना भएका दर्जनौं भलिबल प्रतियोगिताहरुमा काैशल देखाइसकेका थिए ।












