नेपाली कांग्रेसको चियापान आज, १० हजारलाई निम्ता

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम आज गर्दैछ ।

चियापानमा दश हजारजनालाई निम्ता कार्ड बाँडिएको छ ।

चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ-संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।

“चियानमार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्ततालाई सद्भावमा बदल्ने र सामाजिक विसंगतिलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौँ,” कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “हामीले सद्भावको संस्कृतिलाई निरन्तरता दिएका हौँ ।”

उनले दश हजार निमन्त्रण कार्ड बाँडिएको जानकारी दिए । सार्वजनिक निमन्त्रणा पनि गरिएकाले सर्वसाधारणको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रम दिउँसाे २ देखि साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *