संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपालमा
थानकोट ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार बिहान नेपाल आइपुगेका छन् ।
उनी कात्तिक १५ गते सम्म नेपालको औपचारिक भ्रमण रहनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल भ्रमणका लागि आएका हुन्।
भ्रमणका क्रममा महासचिव गुटेरेसले ३० अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।
महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जनवरी २०१७ मा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो ।












