मनसुन गयो‚ यसपटक भरिएन कुलेखानी जलाशय
थानकोट ।
विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष नभरिने अवस्थामा पुगेको छ । मनसुनको समय पार भइसकेकाले अब जलाशय भरिने सम्भावना न्यून छ । जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ ।
जेठदेखि असोजको पहिलो सातासम्म कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट दैनिक १५ घन्टादेखि २० घन्टासम्म सञ्चालन गरिएको थियो । ‘निरन्तर रुपमा आयोजनाबाट विद्युत् उत्पादन नगरेको भए यतिबेला कुलेखानीको जलाशय भरिने अवस्थामा पुगिसक्थ्यो,’ कुलेखानी-१ आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले भने,‘जलाशय भरिएर पानी फाल्नु पर्ला भन्ने डरले पनि जेठदेखि नै कुलेखानीको तीनवटै युनिट सञ्चालनमा ल्याइएको थियो ।’
कुलेखानी जलाशयको जलस्तर गत असार ३१ गते १४९५.४ सेन्टिमिटरमा झरेको थियो । त्यसपछि जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि पानीको सतह बढ्दै आएको आयोजनाले जनाएको छ । साउन १ देखि हालसम्म जलाशयमा २७ मिटर भन्दा बढी पानी संकलन भइसकेको छ ।
जलाशयमा सोमबार दिउँसो ३ बजेसम्म पानीको सतह १५२२.४७ सेन्टिमिटर छ । गत वर्ष यही समयमा जलस्तर १५२५.५ सेन्टिमिटर थियो । कुलेखानी जलाशयमा अहिले दैनिक ६ सेन्टिमिटरमात्र पानी थपिने गरेको छ । खपत पनि दैनिक ५ सेन्टिमिटरसम्म हुने गरेको छ । जलाशयमा आइतबार ३ बजे १५२२.४१ सेन्टिमिटर थियो । ‘जलाधार क्षेत्रमा अब भारी वर्षा भएन भने जलाशय भरिने सम्भावना कमै छ, जलाधार क्षेत्रमा वर्षा हुन छाडिसकेको छ,’ कुलेखानी–१ का एक वरिष्ठ प्राविधिकले भने,‘अब कुलेखानी जलाशय नभरिए पनि सुक्खायामका विद्युत्को समस्या हुँदैन ।’ इकान्तिपुरमा खबर छ ।












