नैकाप गोल्डकपः सेमीफाइनलमा भिड्दै ब्लुबेल र महादेव यूथ तथा मध्यपुर जागरुक र हामी दाजुभाई
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा जारी नगरकै सर्वाधिक ठूलो पुरस्कार राशिको फुटबल उत्सव नैकाप गोल्डकपको छैठाैं संस्करण अन्तर्गत दुवै सेमीफाइनल खेल आज बुधबार हुँदैछन् ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा दिउँसो १ बजे साबिक उपविजेता ब्लुबेल फुटबल क्लब र महादेव यूथ क्लबबीच खेल हुनेछ ।
नागार्जुन नगरपालिका-०७ को महादेव यूथले क्वाटरफाइनल चरणमा स्थानीय क्लब गोल्डस्टार यूथलाई पेनाल्टी शुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको थियो भने ब्लुबेलले अन्तिम ८ को खेलमा कुर्दन फुटबल एकेडेमी विरूद्ध १-० को साँघुरो जित हात पारेको थियो ।
यसैगरी दोश्रो सेमीफाइनलमा आज नै दिउँसो ३ बजे हामी दाजुभाई र मध्यपुर जागरुक यूथ क्लब बीच खेल हुने तालिका रहेको छ ।
यसअघि प्रतियोगिताको अन्तिम ८ को खेलमा हामी दाजुभाईले नैकापकै न्यु चन्द्रसुर्य यूथ क्लबविरूद्ध ४-० को एकपक्षीय जित हात पारेको थियो भने मध्यपुर जागरुक यूथ क्लब वाणस्थली यूथ सोसाइटीविरूद्ध २-१ गोल अन्तरको जितसहित प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको थियो ।
पाँच लाख रूपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधी छिनोफानो भने कार्तिक २५ गते शनिबारका दिन हुने तालिका रहेको छ । आज सेमीफाइनलमा पराजित हुने दुवै टोलीले समान ५०-५० हजार रूपैयाँ सान्त्वना पुरस्कार पाउँदा प्रतियोगितामा दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछ ।
सबै तस्बिरः चन्द्रागिरि स्पोर्टस् एकेडेमी












