छैठाैं नैकाप गोल्डकपको फाइनल आज, उपाधिका लागि ब्लु बेल र मध्यपुर जागरुकबीच खेल हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरकै सबैभन्दा ठूलो फुटबल उत्सव नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करणको उपाधि छिनोफानो आज हुँदैछ ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित फुटबल मैदानमा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा साबिक उपविजेता टोली चन्द्रागिरि नगरपालिका ०२ वाँडभञ्ज्याङको ब्लु बेल फुटबल क्लब र भक्तपुरको मध्यपुरस्थित मध्यपुर जागरुक युवा क्लब आमुने सामुने हुँदैछन् ।

ब्लुबेल लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो भने मध्यपुर पहिलो फाइनल यात्रामा नै उपाधि हत्याउने दाउमा हुनेछ ।

प्रतियोगिताको पहिलो संस्करणमा वेस्टर्न यूनाइटेड फुटबल क्लब, दोश्रो संस्करणमा ढुङ्गाअड्डा युनेस्को क्लब, तेस्रो संस्करणमा बार्सा नेपाल र चाैथो र पाँचाै संस्करणमा तारकेश्वर यूथ क्लबले उपाधि उचालेका थिए । प्रतियोगिताको छैठाैं संस्करणले भने नयाँ विजेता पाउने निश्चित छ ।

प्रतियोगिताअन्तर्गत गत बुधबार सम्पन्न प्रतियोगिताका सेमीफाइनल खेलमा विजयी हुँदै ब्लुबेल र मध्यपुर उपाधि नजिक पुगेका थिए ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा साबिक उपविजेता ब्लुबेल फुटबल क्लबले महादेव यूथ क्लबको चुनाैती २-० ले पन्छाउँदै तेस्रोपटक उपाधि नजिक पुगेको थियो भने दोश्रो सेमीफाइनलमा थानकोटको हामी दाजुभाई फुटबल क्लबको चुनाैती सडेन डेथमा पन्छाउँदै मध्यपुर जागरुक युवा क्लबपनि उपाधि नजिक पुगेको हो ।

चन्द्रागिरि स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउँदा उपविजेता २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कारको हकदार बन्नेछ ।

सेमीफाइनलमा पराजित महादेव यूथ र हामी दाजुभाई फुटबल क्लबले समान ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम प्राप्त गरेका छन् ।

यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने छ ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।

पाँचाै संस्करणमा ब्लुबेल एफसीलाई स्तब्ध बनाउँदै तारकेश्वर युथ क्लबले उपाधी चुमेको थियो । 

गत असोज २७ गतेबाट सुरु भएको प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *