क्षतिपूर्ति माग्दै रवि लामिछानेले हाले कान्तिपुरविरूद्ध मुद्दा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर मिडिया पब्लिकेशनविरूद्ध मुद्दा हालेका छन्।
लामिछानेका वारेस अधिवक्ता अफताब आलमले मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।
‘कान्तिपुर पब्लिकेशनले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग गर्नुभएको छ,’ उनले भने।
उनकाअनुसार कान्तिपुर पब्लिकेशनले गाली बेइज्जतीसम्बन्धी कसुरको दफा ३०५ र ३०६ बमोजिम कसुर गरेकाले ३०५ अनुसारको सजाय मागदाबी गरिएको हो।
मुद्दा दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै लामिछानेले आफ्नो बदनाम गरेकाले कानुनी उपचारमा गएको उल्लेख गरेका छन्।
‘मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो बचन भो,’ उनले लेखेका छन्, ‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरूद्ध कानुनी उपचारमा गएको छु।’
आफू समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाला नभएको पनि उनले उल्लेख गरेका छन्।
‘एउटा योद्धा लडाइँबाट पिठ्यु फर्काएर भाग्दैन। हार-जितको पर्वाह नगरी ऊ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन,’ लामिछानेले लेखेका छन्।










