नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: सांसद् यमुनादेवी श्रेष्ठ ‘ब्याक’ भएपछि प्रा.डा. शाक्य निर्विरोध
थानकोट ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (काठमाडाैं उपत्यका क्लष्टर महिला-१ पद) मा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध चयन भएकी छन् ।
यस क्लष्टरमा शाक्य र बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको मनोनयन दर्ता भएको थियो ।
बुधबार अबेर सांसद् श्रेष्ठले सूचीबाट नाम फिर्ता लिएपछि शाक्य उक्त क्लष्टरबाट निर्विरोध बनेकी हुन् ।
विकसित परिस्थितिलाई ध्यानमा राख्दै आफुले मनोनयन फिर्ता लिन बाध्य भएको सांसद् श्रेष्ठको भनाइ छ ।
यसैबीच, सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै आज बिहान १० बजेदेखि मतदान हुनेछ ।
कार्यक्रम अनुसार, बागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ । यस्तै, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका लागि खुल्लामञ्चमा व्यवस्था गरिएको छ ।
कोशी र मधेश प्रदेशका लागि खुल्लामञ्चस्थित (तराई मधेश हल), गण्डकीका लागि (हिमाली) हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि (पहाड) हलमा मतदानको व्यवस्था गरिएको सदस्यसचिव कटुवालले बताए ।













