मातातिर्थ आयुर्वेद अस्पतालमा सञ्चालन हुने वार्षिक स्वर्ण विन्दु प्राशन कार्यदिनको तालिका सार्वजनिक
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा आर्थिक वर्ष २०८३-८४ सालमा सञ्चालन हुने स्वर्ण बिन्दु प्राशन कार्यक्रमको तालिका सार्वजनिक भएको छ ।
बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम गत साउन २७ गतेदेखि आयोजना भइरहेको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले जनाएको छ ।
प्रकाशित तालिका अनुसार यो कार्यक्रम २०८३ साल असोज १९ गते, कार्तिक १६ गते, मंसिर १३ गते, पुष ११ गते, माघ ९ गते, फागुन ७ गते, चैत्र ४ गते, २०८४ सालको बैशाख २ गते, बैशाख २९ गते, जेठ ४ गते, असार २१ सञ्चालन हुनेछ ।
स्वर्ण बिन्दु प्राशन (सुवर्ण प्राशन) बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी), बौद्धिक र शारीरिक विकास बढाउन प्रयोग गरिने एक प्राचीन आयुर्वेदिक विधि हो।
यसलाई आधुनिक चिकित्सा विज्ञानको ‘खोप’ को अवधारणासँग तुलना गर्ने गरिन्छ, जसले बालबालिकालाई विभिन्न संक्रामक रोगहरूबाट जोगाउन मद्दत गर्दछ। आयुर्वेदको प्रमुख बालरोग ग्रन्थ ‘काश्यप संहिता’ मा यस विधिको विस्तृत व्याख्या गरिएको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले पनि बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि यो कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत गरी विभिन्न आयुर्वेद केन्द्रहरू मार्फत निःशुल्क उपलब्ध गराउँदै आएको छ।













