पोखरामा मह खाने प्रतियोगिता, प्रथम हुनेलाई एक किलो महसहित फ्रेम चाकासहितको मह उपहार

थानकोट ।

पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ ।

वि.सं २०६० मा तीन/तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले ३५० मौरीका घार पुगिसकेका छन् । 

आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्यान्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् । 

बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् ।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका-२३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । द्वितीय पोखरा-३० खुदीका वसन्त पौडेल  र तृतीय पोखरा-२७ का विक्रम अधिकारी बने । 

पोखरा-३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनिन् ।

तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए ।  
    
विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गरेका थिए ।

प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *