मिटर ब्याज पिडितहरूको सयाैं जनाको टोली नागढुङ्गा आइपुग्यो, त्रिभुवन पार्कमा बास बस्ने तयारी

Thankot Times

थानकोट । 

मिटर ब्याज पिडितहरूको अर्को टोली बुधबार साँझ नागढुङ्गा आइपुगेको छ । 

केही दिन यता नागढुङ्गा नाका हुँदै पैदल नै बैंक तथा वित्तिय संस्था पिडित तथा मिटर ब्याज पिडितहरू राजधानी काठमाडाैं आउने क्रम जारी छ । 

अहिले नागढुङ्गामा आइपुगेको टोली चन्द्रागिरि ४ स्थित त्रिभुवन पार्कमा बास बस्ने तयारी गरिरहेको बुझिएको छ ।

विपन्नताको फाइदा उठाई चर्को ब्याज लिने व्यक्तिले ज्यादती गरेकाले आन्दोलन गर्नुपरेको काठमाडौं आइपुगेका पीडितहरूको भनाई छ ।

मिटर ब्याजीहरूले घरबारविहीन बनाउने, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुल्ने जस्ता काम गरेकाले उनीहरूमाथि कानुनी कारबाहीको माग गर्दै दबाबमूलक आन्दोलनका लागि राजधानी उक्लनुपरेको उनीहरुको तर्क छ ।

पूर्व पश्चिमबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौं प्रवेश गरेका हुन्। न्याय मार्च नाम दिएर निस्किएका मिटरब्याजी पीडितहरुले न्याय नपाएको भनी पूर्व पश्चिमबाट पैदल हिँडेर भरतपुरमा एकीकृत भई  निर्णायक आन्दोलनका लागि काठमाडौंमा आउन लागेका हुन्।

उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए। १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भए। त्यसपछि काठमाडौंतर्फ अगाडी बढेका  थिए।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन्।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन्। यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पिडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए।

पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिवाटिकामा बस्ने तयारीमा छन्।


One thought on “मिटर ब्याज पिडितहरूको सयाैं जनाको टोली नागढुङ्गा आइपुग्यो, त्रिभुवन पार्कमा बास बस्ने तयारी

  1. मेराे देशको बिडम्वना अझै न्याय काे लागि राजधानि नै धाउनु पर्ने।।।।

Leave a Reply to सानू कान्छा परियार Cancel reply

Your email address will not be published. Required fields are marked *